हेटौंडा / मानव अधिकार रक्षक संजाल बागमती प्रदेशले बिहीबार आफ्नो नियमित बैठक सम्पन्न गर्दै आगामी वर्षका लागि रणनीतिक रूपमा महत्वपूर्ण निर्णयहरू गरेको छ। अध्यक्ष दिपेन्द्र ढकालको अध्यक्षतामा बसेको बैठकले विगतका गतिविधिको समग्र समीक्षा गर्दै आगामी योजनालाई अझ प्रभावकारी बनाउने दिशामा छलफल गरेको थियो।
बैठकमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा सञ्चालन गरिएका कार्यक्रमहरूको मूल्यांकन गरियो। संजालले हेटौंडा–९ मा महिलाको अधिकार सम्बन्धी समुदायस्तरका कार्यक्रमहरूमा सह–आयोजकको रूपमा सक्रिय भूमिका निर्वाह गरेको तथ्य प्रस्तुत गरिएको थियो, जसले संजालको स्थानीय सहभागिता र सहकार्य क्षमता झन् प्रबल भएको बताइयो।
आगामी कार्ययोजनामा भने बैठकले थप निर्णायक भूमिका खेल्ने तयारी गरेको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ लाई निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गराउन संजालले अनुगमनसहित विभिन्न सचेतना गतिविधि सञ्चालन गर्ने निर्णय गर्दै निर्वाचन प्रक्रियामा नागरिक अधिकार र स्वतन्त्रताको सुरक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।
त्यसबाहेक, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गर्ने नीति, कार्यक्रम र बजेट मानव–अधिकारमैत्री हुनु आवश्यक भन्दै संजालले औपचारिक तथा अनौपचारिक रूपमा सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ। मानव अधिकारसम्बन्धी सरोकारहरू राज्यका नीति निर्माण तहमा प्रतिबिम्बित हुनुपर्नेमा बैठकका सदस्यहरू सर्वसम्मत देखिए।
यसैबीच, संजालकी सक्रिय सदस्य तथा अधिवक्ता अप्सरा बस्नेत बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएको अवसरमा बैठकले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनको भूमिकाले प्रदेशमा न्यायिक क्षेत्र थप सुदृढ हुने विश्वास व्यक्त गर्यो।

















