हेटौंडा/ प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आफ्नो स्थापना दिवसको अवसरमा आज साँझ हेटौंडा बजारको मुख्य चोकमा दीपावली कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा चौतारीका अग्रज पत्रकार, प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारी, विभिन्न केन्द्रीय आयोगका प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरू, साधारण सदस्यहरू तथा पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा फरक–फरक पत्रकार संगठनका पत्रकारहरू तथा नागरिक समाजका व्यक्तिहरूले पनि भौतिक उपस्थिति जनाई उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रममा उपस्थित सबैप्रति मकवानपुर शाखाकी अध्यक्ष सरिता दाहालले विशेष आभार व्यक्त गरेकी छन्।
अध्यक्ष दाहालले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिताको क्षेत्र सुदृढीकरणका लागि प्रेस चौतारी मकवानपुर शाखा निरन्तर सहकार्य र सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

















