हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकामा कक्षा ६ मा अध्ययनरत छात्राहरूका लागि नेपाल सरकारद्वारा देशव्यापी रूपमा सञ्चालन हुन लागिएको एच.पि.भी. (HPV) खोप कार्यक्रम माघ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।
गाउँ कार्यपालिकाको कार्यालय, मनहरीले जारी गरेको सूचना अनुसार पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालन हुने यो अभियान गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययनरत कक्षा ६ का सबै छात्रालाई लक्षित गरिएको छ। यसका लागि स्वास्थ्यकर्मीहरूको टोली उक्त मितिमा विद्यालयमै पुगेर खोप प्रदान गर्नेछ।
पत्रमा विद्यालयहरूलाई छात्राहरूलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन र खोप लगाइएका छात्राहरूको विवरण IEMIS प्रणालीमा Student Records → Student Vaccine Entry मार्फत अद्यावधिक गर्न निर्देशन गरिएको छ।
गाउँपालिकाले अभिभावक तथा विद्यालयलाई खोपबारे थप जानकारी आवश्यक परे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।

















