दाबी एकातिर, पीडा अर्कोतिर: हेटौंडाको ग्यास समस्या कसले हेर्ने?

Image

हेटौंडा/ प्रदेश राजधानी हेटौंडामा पछिल्ला केही दिनदेखि खाना पकाउने एलपी ग्यास नपाएर उपभोक्ता हैरान भएका छन्।

बिहानैदेखि सिलिन्डर बोकेर पसल र डिलर धाउने उपभोक्ताले ग्यास नपाइने गुनासो गर्दै आएका छन्। घर–घरमा ग्यास सकिएपछि दैनिक कामकाज ठप्प जस्तै बनेको भन्दै स्थानीयले तत्काल बजार अनुगमन र आपूर्ति व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार शहरका धेरै डिलर र किराना पसलबाट “ग्यास अभाव छ” भन्दै उपभोक्तालाई खाली फर्काइने क्रम बढ्दै गएको छ। विशेषगरी ग्रामीण टोल तथा वडा क्षेत्रमा रहेका किराना पसलेहरूलाई लामो समयदेखि ग्यास नपठाइदिँदा उपभोक्ता बढी प्रभावित भएको बताइएको छ।

तर उपभोक्ता स्तरमा देखिएको यस्तो गम्भीर अभावको बीचमा ग्यास कम्पनी र आपूर्ति विभागले भने देशभर एलपी ग्यासको कुनै अभाव नरहेको र नियमित आपूर्ति भइरहेको दाबी गरेका छन्। निगमका अनुसार आवश्यक परिमाणमा आयात भइरहेको छ र बजारमा सहज आपूर्ति हुनुपर्ने हो।

यता उपभोक्ताले भने वास्तविक बजारमै सिलिन्डर नपाइने अवस्थाले डिलर र वितरण व्यवस्थामै अव्यवस्था रहेको आशंका व्यक्त गरेका छन्। कतिपयले डिलरले मनलाग्दी रूपमा ग्यास रोक्दै आफूले मन पराएका उपभोक्ता वा नजिकका सप्लाईकर्तालाई मात्रै आपूर्ति गर्ने गरेको जनगुनासो पनि आएको छ।

एक स्थानीय उपभोक्ता भन्छन्, “हामी जस्ता सामान्य उपभोक्ताले कतै ग्यास पाइएन। डिलरले अभाव छ भन्छ, निगमले अभाव छैन भन्छ। यथार्थ कहाँ छ? कसैलाई थाहा छैन।”

उपभोक्ता, डिलर र निगमबीचको दाबी बाझिनुले वितरण प्रणालीमै समस्या रहेको स्पष्ट संकेत देखिएको स्थानीयहरूको भनाइ छ। खासगरी बजार अवलोकन, आपूर्ति अभिलेख निरीक्षण र डिलर स्तरमाको पारदर्शिता अभावका कारण समस्या झनै चर्किएको तर्क गरिन्छ।

स्थानीय बासिन्दाहरूका अनुसार शहरका केही ठूला वा नजिकका सप्लाईकर्तालाई ग्यास दिइए पनि गाउँ–घरका किराना पसललाई नपठाइदिँदा उपभोक्ता एकदमै प्रभावित भएका छन्। यो किन भइरहेको छ भन्नेबारे कुनै निकायले स्पष्ट जानकारी नदिएको कारण समुदायमा थप भ्रम र असन्तोष बढेको छ।

उपभोक्ता लगातारको जनगुनासोलाई मध्यनजर गर्दै अहिले तत्काल बजार अनुगमन, डिलरहरूको आपूर्ति अभिलेख जाँच, वितरण प्रक्रिया पारदर्शी बनाउने माग बढ्दो छ। स्थानीयले सम्बन्धित निकायलाई चाँडो ध्यान दिन आग्रह गरेका छन्, ताकि दैनिक जीवनमा थप संकट नआओस्।