हेटौंडा/ मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार स्थित निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा टुचन मेसिनको ब्रेक फेल भई २१ मिटर तल खस्दा एकजनाको मृत्यु तथा एकजनाको घाइते हुने घटना भएको छ।
मंगलबार साँझ करिब ६ बजेतिर १ नं. पुलको खाडल खन्ने काम सकेर टुचनमा बसी फर्कने क्रममा अचानक ब्रेक फेल हुँदा मेसिन खाडलबाट तल खसेको प्रहरीले जनाएको छ।
घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय ठिंगनका प्र.ना.नि. राजन थापाले दिएको जानकारी अनुसार, टुचनमा बसेका पाँचपोखरी थाङपाल गाउँपालिका–५, सिन्धुपाल्चोकका २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी खाडलभित्र कार्यरत पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३७ वर्षीय जुल्फे तामाङ माथिबाट खसेको टुचनको चपेटामा परि घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। घाइते तामाङको अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरी टोलीले घटनास्थललाई सुरक्षित गर्दै आवश्यक प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। घटनाको विस्तृत अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन भोलि बिहान प्र.नि.को कमाण्डमा थप टोली खटाइने इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ।

















