जन्मदिनलाई समाजसेवामा रूपान्तरण: वडाध्यक्ष नवीन सिग्देलद्वारा मामाघर नेपाललाई एक छाक भोजन सहयोग

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै हेटौंडा ११ मा रहेको मामाघर नेपाल मकवानपुरका बालबालिकाका लागि एक छाक खाना सहयोग गरेका छन्। सडक बालबालिका व्यवस्थापनमा लामो समयदेखि सक्रिय मामाघर नेपाललाई उनले विगत वर्षहरूमा झैँ यस वर्ष पनि निरन्तर सहयोग प्रदान गरेका हुन्।

वडाध्यक्ष सिग्देलले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवभन्दा पनि समाजसेवामार्फत अर्थपूर्ण बनाउन चाहेको बताइएको छ। संस्थाले वडाध्यक्ष सिग्देलको मन, वचन र कर्मबाट प्राप्त निरन्तर सहकार्यलाई विशेष सम्मानका साथ स्मरण गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गरेको छ।

मामाघर नेपाल मकवानपुरले सडकमा आश्रित तथा जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना र व्यवस्थापनका क्षेत्रमा निरन्तर सेवा पुर्‍याउँदै आएको छ। संस्थाका अनुसार स्थानीय तहबाट प्राप्त यस किसिमको निरन्तर सहयोगले बालबालिका हितका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न ठूलो ऊर्जा मिलेको छ।