हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा अस्पतालमा डिउटी समयमा चिकित्सक तथा कर्मचारी अनुपस्थित भेटिएपछि तत्काल सुधारका लागि कडा निर्देशन गरेका छन्। उनले हिजो साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालको आकस्मिक अनुगमन गरेका थिए।
अनुगमनका क्रममा विभिन्न कक्ष तथा सेवाकेन्द्रमा चिकित्सक र कर्मचारी नभेटिएपछि मुख्यमन्त्री बानियाँले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आकस्मिक छलफल बोलाएका थिए। छलफलमा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिस्ट्रार, अस्पताल अध्यक्ष भीमसागर गुरागाईं तथा निमित्त निर्देशक डा. हरिबहादुर खड्का सहभागी थिए।
छलफलपछि मुख्यमन्त्री बानियाँले डिउटी समयमा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीलाई तत्क्षण सचेत गराई सुधार गर्न निर्देशन दिए। उनले लापरबाही दोहोरिए प्रदेश सरकारले सम्बन्धित कर्मचारी, चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि दिए।
“जनताको ज्यान नै मेरो ज्यान हो, यसमा खेलाँची नगरियोस्,” मुख्यमन्त्री बानियाँले भने। उनले बिदामा बस्नुपूर्व एक दिनअघि जानकारी गराउन, बिरामीलाई असर नपर्ने गरी डिउटी व्यवस्थापन मिलाउन तथा डिउटी समयमा अनिवार्य पोशाक लगाउन अस्पताल प्रशासनलाई निर्देशन दिए।
मुख्यमन्त्री बानियाँले अस्पताल परिसरभित्रको सरसफाइमा पनि विशेष ध्यान दिन आग्रह गर्दै स्वास्थ्य संस्थामा अनुशासन, उत्तरदायित्व र जिम्मेवारी पालना अनिवार्य रहेको उल्लेख गरेका छन्।

















