हेटौँडा /“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बालक विरुद्ध हुने यौन हिंसा, सम्बन्धित कानुनी प्रावधान र रोकथामका उपायहरू विषयक बागमती प्रदेशस्तरीय छलफल आज हेटौँडामा सम्पन्न भएको छ।
द भोइस अफ चिल्ड्रेन र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा तथा OAK Foundation र Family for Every Child को सहयोगमा सम्पन्न कार्यक्रममा बालअधिकार सुनिश्चितता तथा बाल न्याय प्रवर्द्धनका क्षेत्रमा बागमती प्रदेशमा भइरहेका प्रयास र सामना गरिरहेका चुनौतिबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले प्रदेशमा बाल न्याय प्रवर्द्धनका लागि भइरहेका काम, कानुनी अभ्यासहरू र देखापरेका चुनौतीहरूको बारेमा प्रस्तुति दिनुभयो।
त्यसैगरी, बालअधिकार समिति बागमती प्रदेशका सदस्य प्रकाश खतिवडाले प्रदेशभित्र हुने बाल हिंसा, कानुनी अवस्था, बालविवाहका समस्या तथा बालगृहहरूको स्थिति विषयमा सहजीकरण गर्नुभयो।
द भोइस अफ चिल्ड्रेनकी सहजकर्ता कृति भट्टराईले बालक विरुद्ध हुने यौन हिंसा रोकथामका उपायहरू, कानुनी संशोधनका आवश्यकता तथा संवेदनशील केसहरूमा प्रभावकारी कार्यान्वयनका उपायबारे सहजीकरण गर्नुभयो।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकहरूले जानकारी दिएका छन्।

















