हेटौंडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहल तथा सिआन पुनर्स्थापना केन्द्र को व्यवस्थापनमा सञ्चालन भइरहेको ३ महिने लागुऔषध दुर्व्यसन न्यूनीकरण अभियान अन्तर्गत मनहरी गाउँपालिका मा प्रभावकारी कार्यक्रमहरूको श्रृंखला सम्पन्न गरिएको छ।
अभियानको प्रमुख गतिविधिका रूपमा आयोजना गरिएको पालिका–स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक रन्जन कालाखेती को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकले लागुऔषध नियन्त्रणलाई स्थानीय तहको साझा दायित्वका रूपमा स्थापित गर्दै मार्गदर्शन २०७६ अनुसार पालिका समन्वय समिति शीघ्र गठन गर्ने निर्णय गर्यो। प्रमुख प्रशासकीय अधिकृतले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्मका गतिविधिलाई एकीकृत ढंगले अघि बढाइने स्पष्ट पारे।
गाउँपालिका अध्यक्ष कालाखेतीले मनहरीलाई लागुऔषध दुर्व्यसनको जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै बजेट विनियोजन, युवा लक्षित कार्यक्रम, विद्यालय सचेतना, पुनर्स्थापना सहकार्य तथा जनअभियान विस्तारमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे।
अभियानको अर्को चरणअन्तर्गत श्री भोज सिद्ध विद्यालय मा विद्यार्थी–केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गरियो। कार्यक्रममा लागुऔषधको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असरका साथै कानुनी परिणामसम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया गरिएको थियो। शिक्षक, अभिभावक, रिकभरिङ नेपाल – बागमती प्रदेश का प्रतिनिधि तथा सिआन पुनर्स्थापना केन्द्रका परामर्शदाताहरूको सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनायो।
समुदायस्तरमा सन्देश विस्तार गर्न मुख्य चोक, बजार क्षेत्र तथा सार्वजनिक स्थानहरूमा सचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। साथै विद्यालय बाहिर धूम्रपान निषेध क्षेत्र जनाउने बोर्डहरू राखिने, पर्चा वितरण तथा जनचेतनामूलक सामग्री प्रसार गरिने गतिविधिहरू समेत गरिएको छ।
यी सबै कार्यक्रमहरूले मनहरी गाउँपालिकामा लागुऔषध विरुद्धको अभियानलाई नीतिगत तहदेखि जनस्तरसम्म सुदृढ बनाउँदै सहकार्य, सामाजिक उत्तरदायित्व र सचेतनाको सबल वातावरण निर्माण गरिएको सरोकारवालाहरूले बताएका छन्।

















