मकवानपुरका १०२ वडामा घर–घरै मतदाता शिक्षा : बदर मत घटाउन १७ दिनको विशेष अभियान सुरु

Image

हेटौंडा/ मकवानपुर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका १०२ वटै वडामा आजबाट घर–घरमै पुगेर मतदाता शिक्षा प्रदान गर्ने विशेष अभियान सुरु गरिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडाले प्रशिक्षण प्राप्त अनुगमनकर्ताको समन्वयमा जिल्लाभर मतदाता सचेतना गतिविधि तीव्र बनाएको हो।

निर्वाचनमा हुने बदर मतको दर घटाउने उद्देश्यले प्रत्येक पालिकाबाट एक–एक जना अनुगमनकर्तालाई तालिम दिइएको थियो। उनीहरूले पुनः आफ्नो पालिकाका प्रत्येक वडाबाट प्रतिनिधि छनोट गरी तालिम दिएपछि वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सक्रिय रुपमा सञ्चालन भएको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यक्रममा बालविकास सहजकर्ता तथा महिला स्वास्थ्य स्वयंसेविकालाई व्यापक रूपमा परिचालन गरिएको छ। घरदैलो भ्रमणमार्फत नमूना मतपत्र देखाई मताधिकारको महत्व, सही तरिकाले मत हाल्ने विधि, र मतदान प्रक्रियामा ध्यान दिनुपर्ने कुराहरू बुझाइनेछ। अनुगमन तथा मूल्यांकनको जिम्मा तालिम प्राप्त अनुगमनकर्तामार्फत सम्हालिने जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार, “बदर मत कम हुनु भनेको मतदाताको राजनीतिक सहभागिता र प्रभावकारी मतदान संस्कृति दुवैका लागि महत्वपूर्ण हो। यसपटक व्यापक शिक्षा अभियानका कारण प्रत्यक्ष परिणाम आउने अपेक्षा गरिएको छ,” उनले भने।

गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ४.४६ प्रतिशत मत बदर भएको थियो। यो दर उल्लेख्य भएकाले यस वर्ष विशेष तयारीसहित मतदाता शिक्षा विस्तार गरिएको जनाइएको छ।
मकवानपुरमा यसपालि ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नं. १ मा: १,५८,४३५ रहेका छन भने निर्वाचन क्षेत्र नं. २ मा: १,५६,८९९ रहेका छन् । जसमध्ये महिला मतदाता १,५३,३७६ र अन्य ५ जना छन्। मतदातालाई सही र प्रभावकारी सहभागितातर्फ उन्मुख गराउने उद्देश्यले सुरू गरिएको मतदाता शिक्षा अभियान फागुन १७ गतेसम्म जारी रहनेछ।