हेटौंडा/ मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९, सान्नानटार स्थित पूर्व–पश्चिम राजमार्गमा २०८२ फागुन ५ गते दिउँसो करिब १५:२० बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
घटनाको जानकारी पाएपछि इ.प्र.का. नेवारपानी, मकवानपुर**बाट खटिएको प्रहरी टोलीले गरेको प्रारम्भिक बुझाइअनुसार मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै टिपर हेटौडा बजारतर्फ फरार भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर रूपमा घाइते भएका मोटरसाइकल चालक, जिल्ला रुपन्देहीका २८ वर्षीय जगदिश थारुलाई चिकित्सकले मृत घोषणा गरेका छन्। साथै मोटरसाइकलमा पछाडि सवार दाङ, राप्ती गाउँपालिका–६ बस्ने २२ वर्षीय आदित्य चौधरी घाइते छन्। उनको दाहिने हात र आँखामुनि चोट लागेको छ र उनी हेटौडा अस्पतालमा उपचाररत छन्।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीले केहीबेरमै नियन्त्रणमा लिएको छ। जिल्ला मकवानपुर, हेटौडा–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई प्र.चौ. बसामाडी लेबट, मकवानपुरले नियन्त्रणमा लिएर थप कारबाहीका लागि जि.प्र.का. मकवानपुरमा पठाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।














