हेटौंडा/ बागमती प्रदेशको मकवानपुर जिल्लास्थित इन्द्रसरोवर गाउँपालिका–२ को सुकौरा बेसीमा आज बिहान स्कारपियो गाडी दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो आज मिति २०८२/११/०९ गते करिब ६:०० बजे कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो। चालक बिजय यादव निदाएको कारण गाडी अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल रहेको शाखा बाटोमा खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनाको खबर ६:३० बजे प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा घाइते सबैलाई उद्दार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। गाडी भने घटनास्थलमै रहेको छ।
घाइतेको विवरण
• बिजय यादव (३८), स्थायी ठेगाना बारा, कलैया उपमहानगरपालिका–२ — वायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम
• सन्तोष कुमार गुप्ता (५०), ऐ.ऐ.७ बरेवा — छातीमा भित्री चोट, अवस्था मध्यम
• सोभा गुप्ता (४०) — कम्मर र टाउकोमा गम्भीर चोट, अवस्था गम्भीर
• अनमोल गुप्ता (१६) — दायाँ खुट्टामा चोट, अवस्था मध्यम
घटनास्थल प्रहरी चौकी फाखेलबाट करिब ४ किमि दक्षिण–पश्चिममा पर्ने बताइएको छ। प्रहरीले आवश्यक थप अनुसन्धान जारी राखेको छ।

















