मकवानपुर–२ मा भूमि समस्या, वन्यजन्तु द्वन्द्व र पूर्वाधारलाई प्राथमिकता दिने घोषणा

Image

हेटौंडा/ मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार बर्तोला ले निर्वाचन अभियानका क्रममा आफ्नो १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। उनले क्षेत्रीय विकास, कृषि, पूर्वाधार, शिक्षा, पर्यटन तथा नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राखिएको बताए।
उनी हाल नेकपा (एमाले) बाट उम्मेदवारी दिएका छन्।
कार्यक्रम हेटौंडा को विभिन्न स्थानमा आयोजित भेटघाट तथा छलफलमार्फत सार्वजनिक गरिएको हो।
१.मध्यवर्ती क्षेत्रका समस्यामा दिगो समाधान
उनका अनुसार भूमिसम्बन्धी समस्या समाधान, मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण, क्षतिपूर्ति व्यवस्था र मध्यवर्ती क्षेत्रको सिमाना समायोजन प्रमुख चुनौतीका रूपमा रहेका छन्। यी विषयमा तत्काल कानूनी पहलकदमी गरिने बताइएको छ।
२.पूर्वाधार विकासमा प्राथमिकता
खानेपानी, सिँचाइ, कृषि तथा सञ्चार पूर्वाधार, तटबन्धन, सडक तथा पुल निर्माणलाई द्रुत गतिमा अघि बढाइने प्रतिबद्धता उनले जनाएका छन्। साथै रूपचन्द्र विष्ट मार्गलाई मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने महत्वपूर्ण मार्गका रूपमा विकसित गर्ने योजना पनि समेटिएको छ।
४.कृषि तथा रोजगारीमा विशेष ध्यान
किसानको उत्पादनलाई बजारमैत्री बनाउन तथा दुग्ध र मासुजन्य पदार्थको बजार विस्तार गर्ने लक्ष्य उनले अघि सारेका छन्। वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि कानूनी संरचना निर्माण र क्षतिपूर्ति प्रभावकारी बनाउने प्रतिवद्धता पनि छ।
५.समृद्धि विशेष कार्यक्रम
राक्सिराङ–कैलाश क्षेत्रमा ‘समृद्धि विशेष कार्यक्रम’ सञ्चालन र थाहा, इन्द्रसरोवर तथा भीमफेदी समेटेर उत्तरी मकवानपुरमा पर्यटन सर्किट निर्माण गर्ने उनले बताए।
६.शिक्षा, युवा र खेलकुद क्षेत्र
‘एक पालिका–एक आवासीय विद्यालय’ योजना, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम कार्यान्वयन, युवा–विद्यार्थी लक्षित अभियान, मनहरीस्थित मदन भण्डारी रंगशाला निर्माण र स्टार्टअप कर्जाको पहुँच वृद्धि उनका प्रमुख प्रतिवद्धता हुन्।
७.नीति निर्माणमा जनसहभागिता
उनले विभिन्न समुदाय, जाति, जनजाति, महिला, दलित तथा अपांगता भएका व्यक्तिहरूको अधिकार, ज्ञान, सीप तथा संस्कृतिको संरक्षण र प्रवर्धनलाई समावेशी नीतिमार्फत अघि बढाइने बताए।
८.उद्योग, रोजगार र लगानीमैत्री वातावरण
स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरी उद्योग, कलकारखाना तथा व्यावसायिक अवसर विस्तार गर्न लगानीमैत्री वातावरण बनाइने योजना पनि उनले अघि सारे।