हेटौंडा / प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अवधि सकिँदै गर्दा नेकपा एमाले मकवानपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो जित पक्का भएको दाबी गरेको छ।
एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले घरदैलो, कोणसभा र मतदाता भेटघाटका क्रममा उम्मेदवारप्रति उत्साहजनक समर्थन देखिएको बताएका छन्। उनका अनुसार क्षेत्र नम्बर १ र २ मा पार्टीका उम्मेदवारहरूले सन्तोषजनक मतान्तरसहित विजयी हुने सम्भावना रहेको छ।
क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानालाई शालिन र सादगीपूर्ण व्यक्तित्वका कारण एमाले मात्रै नभएर अन्य दलका मत पनि आकर्षित हुने विश्वास व्यक्त गरिएको छ। रानाले जिल्ला विकास समितिका सभापति हुँदा अघि सारेको विकास कार्य यस क्षेत्रको मतदातालाई आकर्षित गर्ने मुख्य आधार भएको बताइएको छ।
क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा विजयी महेश कुमार बर्तौलाले गरेका विकास पहल र समस्या समाधानका कामले मतदातामा सकारात्मक प्रभाव पारेको एमालेले दावी गरेको छ।
एमालेको मुख्य चुनावी नाराः “स्थिर सरकार, विकास र समृद्धि”। पार्टी नेतृत्वको विश्वास छ कि मतदाताले विगतको कामको मूल्याङ्कन गर्दै सूर्य चिह्नमा मतदान गर्नेछन्।

















