मनहरीमा झैझगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि बन्चरो आक्रमणपछि एक जनालाई गोली, दुई पक्राउ

Image

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरीमाथि आक्रमण भएको घटनामा दुई जना पक्राउ परेका छन् भने एक जना गोली लागेर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ८:५० बजे लागुऔषध सेवन तथा झैझगडा भइरहेको भन्ने सूचना पाएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा पुगेका प्रहरीले त्यहाँ रहेका व्यक्तिसँग सोधपुछ गर्ने क्रममा अचानक केही व्यक्तिले बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गर्दै प्रहरीमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणका क्रममा प्र.स.नि. तामाङका दुवै हातमा चोट लागी उनी मध्यम घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन तथा आत्मरक्षाका लागि तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली चलाउँदा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने करिब १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ।
घाइते प्रहरी र तितुङलाई उपचारका लागि मकवानपुरस्थित चुरेहिल अस्पताल (CMC) लगिएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएको थियो। सो टोलीले घटनामा संलग्न रहेको आरोपमा हेटौंडा–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।