भोलि फागुन २९ देखि टिसिएन चौरमा खेलकुद, कृषि तथा पर्यटन महोत्सव

Image

हेटौंडा/ मकवानपुरको हेटौंडामा आगामी फागुन २९ गतेदेखि आयोजना हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सव खेलकुद क्षेत्रको विकासलाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार अहिले महोत्सव स्थलको घेराबार, स्टल निर्माण तथा खेल प्रतियोगिता सञ्चालन हुने स्थानको मर्मत सम्भारलगायतका काम भइरहेको छ। महोत्सवको तयारीलाई तीव्र बनाइएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए।

उनका अनुसार महोत्सवबाट संकलित रकम खेलकुद पूर्वाधार विकासमा खर्च गरिनेछ। विशेषगरी समितिको भवन निर्माण, खेल सामग्री खरिद तथा जेन्जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनःस्थापनामा रकम उपयोग गरिने योजना रहेको उनले बताए।

करिब ८० लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा ४ सय वटा व्यावसायिक स्टल रहनेछन्। खेलकुद, व्यापार, कृषि र पर्यटन क्षेत्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महोत्सव अवधिभर राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता आयोजना गरिनेछ। साथै महिला तथा पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगिता पनि सञ्चालन हुने कार्यक्रम छ।

त्यसैगरी विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन तथा दैनिक
राष्ट्रिय र स्थानीय कलाकारको सांगीतिक प्रस्तुति समेत रहने बताइएको छ। खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका १० जनालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्ने तयारी आयोजकले गरेको छ।

यसअघि पनि समितिले आयोजना गरेको महोत्सवबाट बचत भएको रकम खेलाडीको हितका लागि कोषमा राखिएको बताइएको छ। यसपटक पनि महोत्सवबाट प्राप्त हुने बचत रकम खेलकुद क्षेत्रकै विकासमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ।