शिवमको शक्ति बलियो कि जनताको आवाज? बिशाल राज महत

Image

हेटौंडा/ धुलो–धुवाँ नियन्त्रणको माग गर्दै पटक–पटक खबरदारी गर्दा पनि समस्या समाधान नभएको भन्दै स्थानीय बासिन्दाले शिवम सिमेन्ट विरुद्ध आन्दोलनको तयारी गरेका छन्।

स्थानीयका अनुसार कम्पनीका प्रतिनिधिसँग दुईपटकसम्म स्पष्ट छलफल गरिएको थियो। धुलो–धुवाँ नियन्त्रण नगरी कुनै पनि सम्झौता नहुने कुरा स्थानीयले स्पष्ट रूपमा राखेका थिए। उक्त छलफलमा कम्पनीका प्रतिनिधि, पीडित स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा पत्रकारहरूको उपस्थितिमा समस्या समाधानका लागि वार्ता गरी निकास निकाल्ने सहमति भएको थियो।

तर कम्पनीको तर्फबाट निरन्तर आलटाल भएपछि स्थानीय बासिन्दाको उपस्थितिमा आन्दोलनको घोषणा गरिएको बताइएको छ। त्यसपछि विषयले व्यापक ध्यानाकर्षण पाएपछि बागमती प्रदेशका मुख्यमन्त्रीको रोहवरमा पुनः छलफल भएको थियो।

सो बैठकमा स्थानीय सरकार तथा वडा कार्यालयको समन्वयमा ७ सदस्यीय समिति गठन गरी वार्ता, अनुगमन र आवश्यक सल्लाह दिने सहमति भएको बताइएको थियो। तर विडम्बना, हालसम्म उक्त समिति गठन भएको कुनै जानकारी प्राप्त नभएको स्थानीयले बताएका छन्।

यस विषयमा सेवा सहयोग आवाज हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता बिशाल राज महतले आफ्नो फेसबुकमार्फत जानकारी दिँदै समिति गठनमा भएको ढिलाइप्रति प्रश्न उठाएका छन्। उनका अनुसार वडा अध्यक्ष उद्धब सत्याल लाई पटक–पटक फोन गरेर समिति गठन गर्न अनुरोध गरिए पनि हालसम्म कुनै पहल भएको छैन।

स्थानीयहरूले जनप्रतिनिधिहरू मौन बसेकोप्रति असन्तुष्टि व्यक्त गर्दै “हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्तिले स्थानीयको विश्वासमाथि खेलवाड भएको” बताएका छन्।

समस्या समाधानका लागि तत्काल पहल नभए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी स्थानीयहरूले दिएका छन्। उनीहरूले “शिवमको शक्ति बलियो कि हाम्रो आवाज?” भन्ने प्रश्न उठाउँदै यसको उत्तर अब समयले दिने बताएका छन्।