१४ वर्षमै मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ सार्वजनिक, सुमि थिङको साहित्यिक यात्रा सुरु

Image

हेटौंडा/ हेटौँडाकी १४ वर्षीया विद्यार्थी सुमि थिङले सानै उमेरमै आफ्नो पहिलो मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ सार्वजनिक गर्दै साहित्यिक यात्राको सुरुवात गरेकी छन्। नवसर्जक साहित्य चौतारी नेपालको ४२औँ मासिक शृङ्खलाको अवसरमा उक्त कृतिको विमोचन तथा विमर्श कार्यक्रम हेटौँडामा सम्पन्न भएको हो।

अमर माध्यमिक विद्यालय हेटौँडामा कक्षा ९ मा अध्ययनरत सुमिको यो पहिलो प्रकाशित कृति हो। सानै उमेरमा साहित्य सिर्जनामा सक्रिय हुँदै पुस्तक प्रकाशनसम्म आइपुग्नुले युवा पुस्तामा पठन–लेखन संस्कृतिको विकासमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा अग्रज साहित्यकार डा. निमेष निखिल र देवराज खरेलको विशिष्ट आतिथ्य रहेको थियो।

कार्यक्रममा साहित्यकार सानु खनाल र विविशा रुम्बाले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। त्यस्तै नवसर्जकहरू रोज कार्की र नम्रता पराजुलीले कृतिभित्रका प्रतिनिधि मुक्तकहरू वाचन गरेका थिए।

नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार तथा अमर माविका सहायक प्रधानाध्यापक डी.बी. बर्तौलाको सम्पादनमा प्रकाशित उक्त मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको हो।

कार्यक्रममा अग्रज साहित्यकार डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, चौतारीका संरक्षक एवं परिकल्पनाकार दीपक गौतम, सल्लाहकार डी.बी. बर्तौला तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाले कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

चौतारीकी उपमहासचिव रचना भण्डारीको सहजीकरण तथा कोषाध्यक्ष प्रविना प्रयासीको स्वागत मन्तव्यसहित सम्पन्न कार्यक्रममा कृतिकारकी आमा सुमित्रा थिङ, आफन्तजन तथा हेटौँडा र आसपासका क्षेत्रका ६० भन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

नवसर्जक साहित्य चौतारी नेपालले देशभरका २५ वर्षमुनिका युवा सर्जकहरूलाई समेट्दै पठन–लेखन संस्कृतिको विकासमा काम गर्दै आएको छ। संस्थाले युवा सर्जकका कृति प्रकाशनलाई आगामी दिनमा पनि निरन्तरता दिने महासचिव स्वस्तिका दाहालले जानकारी दिइन्।