मकवानपुरमा वन डढेलो व्यवस्थापन सप्ताह–२०८२: तीन तहका सरकार र समुदायको सहभागिता

Image

हेटौंडा/ पछिल्ला वर्षहरूमा मकवानपुर जिल्लामा वन डढेलोको घटनामा उल्लेखनीय कमी देखिएको छ। डिभिजन वन कार्यालय मकवानपुरका अनुसार सन् २०१३ मा १२,२२१ हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको थियो भने सन् २०२१ मा घटेर ६,९७९ हेक्टरमा झरेको थियो। गत आर्थिक वर्षमा मात्र ५७४ हेक्टर वन क्षेत्रमा डढेलो लागेको तथ्याङ्क छ।

डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीका अनुसार डढेलो नियन्त्रणमा ठूलो योगदान पूर्वतयारी, सक्रिय सामुदायिक वन उपभोक्ता समूह र फायर लाइन निर्माणले पुर्‍याएको छ। उनका अनुसार विशेषगरी चैत १५ देखि वैशाख १५ सम्म डढेलोको जोखिम उच्च हुन्छ। गर्मी बढेसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

विगत २५ वर्षको तथ्याङ्कअनुसार, जिल्लाको पूर्वी क्षेत्र, विशेषगरी बकैया गाउँपालिका (वडा १, २, ७) र बागमती गाउँपालिका (वडा ३, ४, ६) डढेलोको उच्च जोखिम क्षेत्रमा पर्छ। चुरे पहाड, कम बस्ती र जनचेतनाको कमीले डढेलोको जोखिम बढाउने मुख्य कारण बनेको छ।

वन डढेलो न्यूनीकरणका लागि नयाँ फायर लाइन निर्माण, पुराना फायर लाइन मर्मत, वनभित्र सडक–बाटो सरसफाइ र ज्वलनशील वस्तु हटाउने काम भइरहेको छ। गत वर्ष १५६ किलोमिटर फायर लाइन निर्माण गरिएको थियो भने डढेलो नियन्त्रणका लागि २०० जनालाई रोजगारी प्रदान गरिएको थियो। चालु वर्षमा २०० किलोमिटरभन्दा बढी फायर लाइन निर्माण गर्ने तयारी रहेको छ।

डिभिजनल वन अधिकृत चन्द्रवंशीका अनुसार, वन डढेलो नियन्त्रणलाई अझ प्रभावकारी बनाउन जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहसँग समन्वयमा फायर रेस्पोन्स टोली गठन गर्ने तयारी भइरहेको छ।

यस्तै, चैत १–७ गतेसम्म “वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिता” नारा सहित वन डढेलो व्यवस्थापन सप्ताह–२०८२ मनाइँदैछ। यस अवधिमा वन सरसफाइ, ज्वलनशील वस्तु हटाउने, फायर लाइन निर्माण र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ, सातौं वन अधिकृत हेम कुमार पाठकले जानकारी दिनुभयो।