बोल्ट्स बटालियनद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Image

ललितपुर — जनकपुर बोल्ट्सका समर्थक समूह ‘बोल्ट्स बटालियन’ले वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार ललितपुरको च्यासलस्थित मम्सा क्याफे एन्ड बैंक्वेटमा आयोजित कार्यक्रममा आगामी नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणका विषयमा समेत भेटघाट तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता नवीन साहले गरेका थिए। कार्यक्रममा जनकपुर बोल्ट्सका अलराउन्डर विशाल कुमार पटेल, गायक तथा स्टेज पर्फर्मर राजा राजपूत, नृत्यांगना अञ्जली साह, मिथिला चित्रकार मनिषा साह, प्रहरी निरीक्षक शत्रुधन महतो, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत नीरज श्रीवास्तव तथा इन्फ्लुएन्सर एवं कन्टेन्ट क्रिएटर राधा यादवलगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष नवीन साहले आगामी NPL मा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भव्य उपस्थितिका साथ जनकपुर बोल्ट्सलाई समर्थन गर्ने बताए। उनले बोल्ट्स बटालियनले ग्रासरुट तहदेखि नै खेल क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए।

जनकपुर बोल्ट्सका खेलाडी विशाल कुमार पटेलले समर्थकहरूको माया र साथप्रति आभार व्यक्त गर्दै यसैगरी समर्थन जारी राख्न आग्रह गरे। उनले यो सिजनको ट्रफी जनकपुर बोल्ट्सले जित्ने विश्वास व्यक्त गरे।

‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’ भन्ने नारासहित खेल समर्थकका रूपमा पहिचान बनाउँदै आएको बोल्ट्स बटालियनले कार्यक्रममा नृत्य, गायन, गजल वाचन, शुभकामना मन्तव्य, फ्यान एङ्गेजमेन्ट, अन्तरक्रिया तथा जर्सी रिभिललगायतका कार्यक्रम प्रस्तुत गरेको थियो।

कार्यक्रमको संयोजन तथा सञ्चालन जय कृष्ण महतोले गरेका थिए।