काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ। कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित निकालेको हो।
यो हारसँगै पोखरा एभेन्जर्स प्रतियोगिताको लिग चरणबाट बाहिरिने पहिलो टिम बनेको छ। ६ खेलमा ६ अंक जोडेको विराटनगरले भने प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।
युवराजको उत्कृष्ट ब्याटिङ, सन्दीपको ह्याट्रिक
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा १३२ रन बनाउँदा अलआउट भयो।
पोखराका लागि ओपनर युवराज सिंह सम्राले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८४ रन बनाए पनि अन्य खेलाडीले राम्रो साथ दिन सकेनन्।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिएर ६ विकेट लिए। उनले एकै ओभरमा लगातार ३ विकेट लिँदै यस सिजनको पहिलो ह्याट्रिकसमेत पूरा गरे।
उदाना र जयसूर्याको शानदार साझेदारी
जवाफमा १३३ रनको लक्ष्य पछ्याएको विराटनगरको सुरुवात पनि राम्रो भएन। १६.५ ओभरमा १०५ रन बनाउँदा विराटनगरले ६ विकेट गुमाइसकेको थियो। तर, अन्तिम ओभरहरूमा इसुरु उदाना (अविजित २५ रन) र सेहान जयसूर्या (अविजित १७ रन) ले विस्फोटक ब्याटिङ गर्दै टिमलाई १९.२ ओभरमा लक्ष्यसम्म पुर्याए।
पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्। उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भए।












