हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतरा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
बिहीबार राति करिब ८ः४५ बजे हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको प्रदेश ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डे गम्भीर घाइते भएका थिए। उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले पिकअप र चालक सिन्धुलीको कमलामाई नगरपालिका–३ निवासी ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।














