भाषा र संस्कृतिको संरक्षण संघीयताको सुन्दर पक्ष हो : मुख्यमन्त्री थापामगर

Image

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भाषा, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण गर्नु संघीयताको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ।

नेपाल संवत् ११४७ को अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशमा रहेका विभिन्न जातजाति, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको बताउनुभयो।

उहाँले प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसको विकास र प्रवर्द्धनलाई प्राथमिकता दिनु संघीयताको सुन्दर पक्ष भएको उल्लेख गर्नुभयो। नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएकाले हरेक भाषा, संस्कृति र संस्कारको आफ्नै मौलिक पहिचान रहेको उहाँको भनाइ थियो।

मुख्यमन्त्री थापामगरले राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नागरिकलाई ऋणमुक्त गराउन गरेको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको सामाजिक सेवाभाव र योगदान नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताउनुभयो।

शंखधर साख्वाःको इतिहास र योगदानको संरक्षणका लागि बागमती प्रदेशका प्रत्येक जिल्लामा उहाँकै नाममा प्रतिष्ठान स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै अन्य जिल्लाबाट पनि माग आए आवश्यक बजेट उपलब्ध गराइने बताउनुभयो।

त्यसैगरी, शंखधर साख्वाः प्रतिष्ठानको संग्रहालय निर्माणलगायतका कामका लागि पनि प्रदेश सरकारले बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो। मुख्यमन्त्री थापामगरले नेपालभाषा र तामाङ भाषालाई सरकारी कार्यालयको कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने उद्देश्यले प्रदेश सरकारले कानुन निर्माण गरिसकेको स्मरण गराउनुभयो। भाषा र संस्कृतिलाई व्यवहारमै स्थापित गर्न आवश्यक पहल भइरहेको उहाँको भनाइ थियो।

नेपालभाषाको संरक्षण र विकासलाई काठमाडौं उपत्यकामा मात्र सीमित नराखी प्रदेशका सबै जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि आगामी दिनमा पनि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।