हेटौँडामा प्रहरी सहायक हवल्दार मृत फेला

Image

हेटौंडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत फेला परेका छन्।

मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेटअगाडि एक घरनजिकै रहेको जस्ताको ट्रसमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मृत फेला परेका हुन्।

बिहान मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उहाँलाई मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका गुरुङ करिब ३५/३६ वर्षका थिए। उनी हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत थिए।

प्रहरीले घटनास्थलबाट एउटा नोट फेला पारेको जनाएको छ। यद्यपि, त्यसमा उल्लेखित विषयवस्तुबारे प्रहरीले खुलाएको छैन।