काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बुधबार जारी ‘एलिमिनेटर’ खेलमा चितवन राइनोजले काठमाडौँ गोर्खाजलाई जितका लागि २०५ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन को योगफल तयार पारेको हो।
चितवनलाई विशाल योगफलसम्म पुर्याउन ओपनर कामिल मिश्राले विष्फोटक शतकीय इनिङ्स खेले। सुरुवातदेखि नै काठमाडौँका बलरमाथि हाबी भएका मिश्राले मात्र ५९ बलको सामना गर्दै १० छक्का र ५ चौकाको मद्दतले १२० रन बनाए।
उनलाई गतिलो साथ दिँदै रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन को अर्धशतकीय योगदान दिए। त्यस्तै, देव खनालले १५ बलमा १७ रन तथा विवेक यादवले मात्र ३ बलमा २ चौकासहित अविजित ८ रन जोडे।
सुरुवाती ब्याटरद्वय कुशल मल्ल र डेविड मलान भने शून्य रनमै पभेलियन फर्किएका थिए।
बलिङतर्फ काठमाडौँ गोर्खाजका कप्तान करण केसी र रासिद खान ले समान २–२ विकेट लिए। ४ ओभर बलिङ गरेका करणले ३२ रन खर्चिए भने रासिदले ४ ओभरमा ३८ रन दिए। अन्य बलरहरू महँगो साबित हुँदा सोनू देवकोटाले १ ओभरमै २७ रन र गणेश गौतमले ३ ओभरमा ३१ रन खर्चिए।
आजको खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

















