हेटौँडा–लोथर सडक मर्मत गर्न कांग्रेसको सातदिने चेतावनी

Image

हेटौँडा । हेटौँडा–राप्ती पुलपारी–लोथर सडकखण्डको जीर्ण अवस्था सुधार गर्न नेपाली कांग्रेस हेटौँडा–१९ वडा इकाई समितिले सातदिने अल्टिमेटम दिएको छ।

समितिका सभापति सुजन बर्तौलाले बिहीबार सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सात दिनभित्र सडक मर्मतको काम सुरु गर्न माग गरेका हुन्।

सडकका विभिन्न स्थानमा ठूलाठूला खाल्डाखुल्डी परेको, किनारा भत्किएको र सतह बिग्रिएको भन्दै समितिले सवारी आवागमन जोखिमपूर्ण बनेको जनाएको छ। सडकको दुरवस्थाले दुर्घटनाको जोखिम बढाउनुका साथै स्थानीयको दैनिक आवागमन र व्यवसायमा समेत असर परेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

समितिले आवश्यक बजेट, जनशक्ति र प्राविधिक व्यवस्थापन गरी तत्काल मर्मतसम्भार गर्न माग गरेको छ। सात दिनभित्र काम सुरु नभए स्थानीय नागरिक, युवा तथा सरोकारवालालाई एकजुट बनाएर शान्तिपूर्ण जनदबाबमूलक आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

ध्यानाकर्षणपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई समेत दिइएको छ।