लर्ड्समा नेपाल र बंगलादेशबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल हुने

Image

काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) खेल खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपालको इंग्ल्यान्ड भ्रमणको आधिकारिक तालिका सार्वजनिक गर्दै आगामी सन् २०२७ जुन ३ मा उक्त खेल हुने पुष्टि गरेको हो।

एमसीसीको आयोजनामा हुने भ्रमणका क्रममा लर्ड्समा सोही दिन मिडलसेक्सको घरेलु ‘टी–२० ब्लास्ट’ खेल पनि तय गरिएको छ। लर्ड्सको इतिहासमा एकै दिन पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट (डबल हेडर) आयोजना हुन लागेको यो पहिलो अवसर हो। नेपाल र बंगलादेशका समर्थकहरूलाई प्रत्यक्ष प्रसारण हेर्न सहज हुने समय मिलाएर खेलको तालिका तय गरिएको एमसीसीले जनाएको छ।

नेपालका लागि दोस्रो, बंगलादेशका लागि पहिलो टी–२०आई
लर्ड्सको ऐतिहासिक मैदानमा नेपालले खेल्न लागेको यो दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्समा टी–२०आई खेलेको थियो। उता, बंगलादेशको पुरुष टोलीले भने लर्ड्समा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो। यसअघि सन् २०२६ को महिला टी–२० विश्वकपमा बंगलादेशको महिला टोलीले लर्ड्समा खेलेको थियो।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष तमिम इकबालले ‘होम अफ क्रिकेट’ मानिने लर्ड्समा नेपालसँग खेल्नु विशेष अवसर भएको र यसले दुवै देशका क्रिकेटप्रेमीलाई उत्साहित बनाउने प्रतिक्रिया दिएका छन्।

स्कटल्यान्ड र आयरल्यान्डसँग पनि सिरिज

लर्ड्सको खेलबाहेक नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा स्कटल्यान्ड र आयरल्यान्डसँग पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त खेलहरू खेल्नेछ।

नेपालको इंग्ल्यान्ड भ्रमण तालिका (सन् २०२७):

जुन १: नेपाल विरुद्ध स्कटल्यान्ड (५० ओभरको खेल) — वर्म्सली
जुन ३: नेपाल विरुद्ध बंगलादेश (टी–२०आई) — लर्ड्स
जुन ६: नेपाल विरुद्ध आयरल्यान्ड (५० ओभरको खेल) — वर्म्सली
जुन ९: नेपाल विरुद्ध आयरल्यान्ड (टी–२०आई) — वर्म्सली
जुन ११: नेपाल विरुद्ध आयरल्यान्ड (टी–२०आई) — बेकेनह्याम
जुन १२: नेपाल विरुद्ध आयरल्यान्ड (टी–२०आई) — बेकेनह्याम