काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो।
सुरुवाती ब्याटरहरू सस्तैमा समेटिएपछि दबाबमा आएको चितवनको इनिङ्सलाई अनुभवी ब्याटर डेविड मलानले सम्हालेका थिए । अन्तिमसम्म अविजित रहेका मलानले ५१ बलमा ९ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७१ रनको महत्वपूर्ण योगदान दिए।
त्यस्तै, सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल सिंह ऐरीले ८ बलमा १० रन बनाए। चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर कामिल मिशारा ४, देव खनाल ६, कप्तान रवि बोपारा १, बिबेक यादव ३ तथा कुशल मल्ल १ रनमै आउट भए।
बलिङतर्फ सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलेइनले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। थरिन्दु रतनायकेले २ विकेट हात पार्दा कप्तान दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी र इशान पाण्डेले समान १–१ विकेट लिए।
अब फाइनलमा स्थान बनाउन सुदूरपश्चिमले १३४ रनको लक्ष्य पूरा गर्नुपर्नेछ। आजको विजेता टोलीले शनिबार हुने फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

















