काठमाडौं
निर्वाचन आयोगले मतगणना गर्न सजिलो होस् भनेर मात्रै स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र चुनाव चिन्हको रङ परिवर्तन गर्दै हरियो बनाउन लागिएको बताएको छ।
०७४ सालमा भएको स्थानीय चुनावमा आयोगले मतपत्र र चुनाव चिन्ह तथा मतदानको संकेत गर्ने स्वस्तिक छापको रङ एकै रङ (निलो) प्रयोग गरेको थियो।
मतपत्र, चुनाव चिन्ह र स्वस्तिक छापको रङ समान हुँदा मतगणनामा अप्ठ्यारो आइपरेकोले यसपालि मतपत्र र चुनाव चिन्ह हरियो तथा मत संकेत गर्ने स्वस्तिक छापको रङ निलो राख्ने निर्णय भएको आयोगको भनाइ छ।
आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि मतपत्र डिजाइन तथा रङ तय गर्ने अधिकार आयोगमा रहेको बताए। आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले मतपत्र र चिन्हको रङ हरियो किन राखियो भनेर अन्यथा सोच्नुपर्ने केही कारण नभएको बताए।
‘मतगणना गर्न सजिलो होस् भनेर मतपत्र, चुनाव चिन्ह र स्वस्तिक छापको रङ फरकफरक गर्न लागिएको हो। विभिन्न कुरा बाहिर आएका छन्, यसलाई औपचारिक रूपमा आयोगले कसरी छलफल गर्ने र अन्य निर्णय गर्नुपर्ने भए आयोगकै क्षेत्राधिकारभित्र पर्ने भएकोले पछि निर्णय होला,’ उनले भने। आयोगले नितान्त प्राविधिक कारणले रङ परिवर्तन गर्ने निर्णय गरेको उनले बताए।
‘०७४ सालमा प्रयोग गरेको मतपत्रमा दलहरूका चुनाव चिन्हको रङ मतपत्रमा निलो राखिएको थियो। स्वस्तिक छापको रङ पनि निलो नै थियो। त्यसैले चिन्ह र स्वस्तिक छापमा प्रयोग गर्ने रङ एकै पर्न जाँदा गणनामा अप्ठ्यारो भयो,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा एकपटक स्ट्याम्प चोपेपछि सातपटक चिन्हमा छाप हान्नुपर्छ। कतिपय मतदाताहरूलाई फेरि स्ट्याम्प चोपेर छाप हान्नुपर्छ भन्ने बानी नहुन सक्छ। त्यसले गर्दा पछिल्ला चिन्हहरूमा मत संकेत मधुरो हुँदै जाने पाइयो। चिन्हको रङ गाढा हुने र स्वस्तिक छाप मधुरो हुँदा गणना गर्न गाह्रो भयो।’
मतगणना राति पनि गर्नुपर्ने हुँदा वत्तिको उज्यालोमा मधुरो मतसंकेत नदेखिने गरेकोले यसपालि फरकफरक रङको प्रयोग गर्न लागेको उनी बताउँछन्।
‘कतिपय स्वस्तिक छाप निर्वाचन चिन्हमा पर्यो भने छाप लगाएको हो कि होइन पहिचान गर्न गाह्रो भएकोले मुख्यत: रङमा भिन्नता गर्न लागेका हौं,’ उनले भने।
०७४ को चुनावमा खटिएका निर्वाचन अधिकृत, अनुगमनमा गएका अधिकारीहरू, गणकहरू र सरोकारवालाका सुझावअनुसार आयोगले मतपत्रको रङ, चुनाव चिन्ह र स्वस्तिक छापको रङ फरक गर्ने निर्णय गरेको उनले बताए।
‘आयोगले अन्यथा निर्णय गर्यो कि भन्ने कसैलाई दुविधा छ भने आयोग त्यसका लागि प्रष्ट पार्न सधैं तत्पर छ,’ उनले भने।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र र चिन्हको रङ हरियो राख्ने आयोगको निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्।
तर सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने रङसँग नआत्तिन आग्रह गरेका छन्। पछिल्लो समय राजनीतिक दलहरू मतपत्र, चिन्ह र स्वस्तिक छापमा प्रयोग गर्ने रङका विषयलाई लिएर आरोपप्रत्यारोपमा उत्रिएका छन्।
















