इलाम
दोस्रो राष्ट्रिय महिला लिग फुटबलका लागि विराटनगर महानगरपालिकाले बन्द प्रशिक्षण तीव्र रूपमा अघि बढाएको छ।
चैत १० गतेबाट चितवनमा हुने पहिलो चरणको प्रतियोगिताका लागि विराटनगरले डेढ महिनाबाट १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो। गत संस्करणको प्रतियोगितामा पाँचौँ स्थानमा रहेको विराटनगरले यो वर्ष दोस्रो स्थानमा रहने लक्ष्य राखेको छ। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी प्रतियोगितामा महानगरलाई उपाधि नजिक पुर्याउने लक्ष्यले राखेको गोलरक्षक एवं कप्तान कल्पना कार्की बताउँछिन्।
उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष नतिजामा सुधार आउने अपेक्षा छ। कल्पनालाई गोलपोष्टमा साथ दिन सोनु लामा र करिना धिमाल तयार अवस्थामा छन्।
त्यसैगरी टोलीले भारतको पश्चिम बंगाल र झारखण्डबाट समेत चारजना भारतीय खेलाडीलाई मैदानमा उतार्ने तयारी गरेको छ। टोलीलाई पारस चौधरी र गोलरक्षकको प्रशिक्षकमा करण कार्कीले अभ्यस्त बनाउँदै छन्। मुख्य प्रशिक्षक चौधरीका अनुसार टोलीको तयारी सोचेअनुसार भइरहेको छ।
प्रतियोगिताका लागि अभ्यास गर्न महानगरपालिकाले राम्रो समय दिँदा नतिजा पनि अपेक्षाकृत आउनेमा उनी विश्वस्त देखिन्छन्। गत संस्करणमा विराटनगरले १२ खेलमा ५ जित र १ बराबरी नतिजा निकाल्दै १६ अंक बटुलेको थियो।
प्रशिक्षक चौधरीका अनुसार टोलीमा मिडफिल्ड र फ्रन्ट लाइनमा ७ जना, डिफेन्समा ८ र गोलरक्षकको भूमिकामा ३ जनासहित टोली सन्तुलित रहनेछ। टोली महानगरबाट कविता खड्का र अपेक्षा गिरीसहित मोरङका अन्य क्षेत्रबाट ८, धनगढीबाट ४, सर्लाहीबाट ३, धनकुटा, सुनसरी, उदयपुरबाट समान १ र भारतबाट ४ जना खेलाडी टोलीमा अटाएका छन्। टोलीमा रहेका विद्या राना र दीपिसा लामाले १८ वर्षमुनिको साफ च्याम्पियन्सिपको प्रारम्भिक टोलीमा रहँदै प्रशिक्षण गरेका थिए।
विभागीय टोली नेपाल पुलिससँग चैत ११ गते खेल्दै विराटनगरले प्रतियोगिता सुरुवात गर्दै छ। यसअघि पुलिसको टोलीलाई पराजित गरेको विराटनगरले मैदानमा दबाब बनाउन सफल हुनेमा विश्वास लिएको छ। प्रतियोगिताका लागि टोलीको सम्पूर्ण तयारी खर्च महानगरपालिकाले व्यहोरेको छ। होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो चरणको खेल चितवन र दोस्रो चरणको खेल विराटनगरमा हुनेछ।
प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने टोलीले १० लाख, तेस्रो स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।














