काठमाडौं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमा नै बेरुजु सम्परीक्षण तथा फछयौट नगर्ने विद्यालयका प्रधानाध्यापकलाई बेरुजु फछयौट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्ने शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ।
केन्द्रको गत चैत्र चार गतेको निर्णयअनुसार बेरुजु भएका विद्यालयलाई बेरुजु फछयौट नभएसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्ने निर्णय गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाईको नाममा रहेको बेरुजुको मात्रा ठुलो रहेको तथा सो बेरुजु सम्परीक्षण तथा फछयौटका सम्बन्धमा सहजीकरण गर्ने उद्देश्यले इकाईका प्रमुखसँग विभिन्न समयमा भएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझाव समेतका आधारमा केन्द्रले यस्तो निर्णय गरेको केन्द्रका लेखा शाखाका उपसचिव विनोद गेलालले जानकारी दिए ।
उपसचिव गेलालका अनुसार, सबै जिल्लाभित्र बेरुजु भएका विद्यालयको विवरण इकाईले आफ्नो वेवसाईटमा राखी सार्वजनिक गर्न समेत निर्देश्नदिइएको छ ।
तत्कालीन् जिल्ला शिक्षा कार्यालय मार्फत भवन निर्माण प्रयोजनार्थ विद्यालयलाई प्रदान गरिएको रकममा हालसम्म पनि निर्माण कार्य शुरु नभएको हुँदा उक्त रकम तत्काल बेरुजु खातामा दाखिला गराउने केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएका विद्यालयको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने व्यवस्था मिलाउन समेत केन्द्रले सबै इकाई, स्थानीय तह र र बेरुजु भएका सामुदायिक विद्यालयलाई निर्देशन दिएको उपसचिव गेलालले जानकारी दिए ।
त्यस्तै केन्द्रले, आर्थिक वर्ष २०७८–७९मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुले पीएमटी फाराम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन निर्देशन दिएको छ ।
केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८, को प्रक्रिया पुयाई फाराम भर्ने भराउन निर्देशन दिएको हो ।
प्रक्रिया पुरागरी चैत्र १–३० गतेभित्र फारम भरिसक्न कन्द्रले सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको केन्द्रका शाखाअधिकृतमनुजा बरालले जानकारी दिइन् ।
















