एसिया कप महिला क्रिकेट : नेपालमाथि पाकिस्तानको सहज जित

Image

काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोली पाकिस्तानसँग पराजित बनेको छ । आइतबार राति सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तानको जीतमा गुल फिरोजाले अर्धशतकीय पारि खेल्दा मुनेवा अलीले ४६ रनको पारि खेलिन् । गुलले ३५ बलमा १० चौकाको मद्दतले ५७ रन बनाएर आउट भइन् । यसैगरी मुनेवाले ३४ बलमा ८ चौकाको मद्दतमा ४६ रन बनाइन् । तोबा हसनले १ रनको नटआउट पारि खेलिन् ।

नेपालका कविता कुवर, रुविना क्षेत्री, पुजा महतो, इन्दू वर्मा, सिता रानामगर, कविता जोशी र कृतिका मरासीनीले बलिङ गर्दा सबै पाकिस्तानविरुद्ध बलिङ गरेका थिए । जसमा कविता जोशीले अन्त्यतिर १ विकेट लिइन् ।

यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो । नेपालका लागि ओपनर सीता रानामगरले २६ रनको योगदान गरिन् । उनले ३० बलमा तीन चौका पनि प्रहार गरिन् । पूजा महतोले २५ रन बनाइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ३२ बलमा तीन चौका हिर्काइन् ।

कविता जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । उनले २३ बलमा एक छक्का र चार चौका हिर्काइन् । कविता कुँवरले १३ रन बनाइन् । पाकिस्तानकी बलर सादिया इक्वालले दुई विकेट लिइन् । यसअघि पहिलो खेलमा भने नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।