काठमाडौं । घरेलु मैदानमा सम्पन्न भएको काभा महिला नेसन्स भलिबल लिग २०२४ मा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीले जनही ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ नगद पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष सफारिस गरेको जानकारी गराएको हो ।
राखेपको कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णयसँगै उपविजेता टोलीमा रहेका १४ खेलाडीले समान ३ लाख नगद पुरस्कार प्राप्त गर्ने भएका हुन् ।
मुख्य प्रशिक्षक जगदीश भट्टले २ लाख पाउँदा सहायक प्रशिक्षक भरत यादव, टिम व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरले जनही एक लाख २० हजार प्राप्त गर्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गत बुधबार सम्पन्न फाइनलमा नेपाल भारतसाग ३(२ को सोटमा पराजित हुँदै काभा नेसन्स भलिबलमा उपविजेता बनेको थियो ।
नेपाली टोलीः अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, सोफिया पुन, आरती सुवेदी र सुमित्रा रेग्मी

















