काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगलका विंगर पेड्रो नेटोलाई सात वर्षका लागि अनुबन्ध गरेको छ। चेल्सीले उनलाई वुल्भ्सबाट अनुबन्ध गरेको हो।
कुनै पनि क्लबले आर्थिक विवरण सार्वजनिक गरेका छैनन्। तर बेलायती सञ्चारमाध्यमका अनुसार चेल्सीले ५ करोड ४० लाख पाउन्ड (६ करोड ९० लाख अमेरिकी डलर) तिरेको छ।
पोर्चुगलका फरवार्डलाई चेल्सीले आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सार्वजनिक समेत गरेको थियो । “म क्लबमा अनुबन्ध हुन पाउँदा निकै खुसी छु । मैले यहाँसम्म आउन करियरमा धेरै मेहनत गरेको छुँ । र, म यो क्लबको जर्सीबाट मैदान उत्रिन उत्साहित छु,” सम्झौतापछि नेटोले भने ।
चेल्सीले यसअघि दुईपटक प्रस्ताव गरे पनि वुल्भ्सबाट अस्वीकृत भएको थियो । चेल्सीले सुरुआतमा नेटोका लागि वुल्भ्सलाई ५१.३ मिलियन पाउन्ड तिर्नेछ । यसपछिको बाँकी २.६ मिलियन पाउन्ड भने ‘एड वान्स’को रूपमा तिर्नेछ । नेटो सन् २०१९ मा इटालियन क्लब लाजियोबाट वुल्भ्समा अनुबन्धित भएका थिए । वुल्भ्सबाट पाँच वर्ष खेल्दा उनले १३५ खेलमा १४ गोल गरेका छन् ।

















