काठमाडौं । घाइते भएपछि इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले श्रीलंकाविरुद्धको टेस्ट शृंखला गुमाउने सम्भावना बढेको छ । द हन्ड्रेडअन्तर्गत आइतबार साँझ म्यानचेस्टर ओरिजिनल्स र नर्दन सुपरचार्जर्सबीचको खेलमा रन लिने क्रममा स्टोक्सको बायाँ खुट्टामा चोट लागेको थियो ।
फिल्डबाट बाहिर निस्कन उनले मेडिकल स्टाफको काँधमा सहारा लिनुपर्ने भयो। यस अवधिमा उनी लगातार आफ्नो बायाँ खुट्टाको ह्यामस्ट्रिङलाई हातले समातिरहेका थिए।
यसपछि उनलाई एम्बुलेन्समा स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो। स्टोक्स एक घण्टापछि डगआउटमा फर्किए पनि उनले बैसाखीको सहारा लिनुपरेको थियो।योसँगै श्रीलंकाविरुद्धको आगामी टेस्ट सिरिजमा उनको सहभागिता शंकास्पद बनेको छ।

‘चोट निकै गम्भीर देखिन्छ, स्क्यानपछि मात्र विस्तृत जानकारी प्राप्त हुन्छ,’ सुपरचार्जर्सका कप्तान ह्यारी ब्रुकले भने । ओपनिङमा आएका स्टोक्स चार बलमा दुई रन बनउँदा चोट लागेपछि रिटायर्ड हर्ट भएका थिए ।
स्टोक्सले शृंखला गुमाएको खण्डमा उपकप्तान ओली पोपले टोलीको नेतृत्व सम्हाल्ने सम्भावना छ । यसैगरी जोर्डन कक्सले मौका पाउन सक्छन् । तीन खेलको टेस्ट शृंखला अगस्ट २१ बाट म्यानचेस्टरमा सुरु हुँदैछ ।

















