काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी–१० क्रिकेट लिग गुमाउने भएका छन् ।
भिसासम्बन्धि समस्याका कारण दुवै नेपाली खेलाडी क्यारेबियन लिगमा अनुपस्थित रहने भएका हुन् । क्यारेबियन लिगमा रोहित मियामी लायन्समा र दीपेन्द्र ग्रान्ड क्यामन जागुअर्समा आबद्ध थिए ।
रोहित र दीपेन्द्र हाल क्यानडामा छन् । उनीहरु फ्रेन्चाइज प्रतियोगिता ग्लोबल टी–२० क्यानडा खेल्न त्यहाँ पुगेका हुन् । ग्लोबल टी–२० क्यानडाको उपाधि रोहित सम्मिलित टोली टोरन्टो नेसनल्सले जितेको थियो । गत महिना भएको ड्राफ्टबाट रोहित र दीपेन्द्र क्यारेबियन लिगमा अनुबन्धित भएका थिए ।
अर्को महिना क्यानडामै आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खला आयोजना हुँदैछ । लिग–२ शृङ्खलामा नेपाल पनि सहभागी हुनेछ । त्यसको तयारीका लागि नेपाली टोली हाल भारत भ्रमणमा रहेको छ ।
कप्तान रोहित, दीपेन्द्र र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने पनि भारत भ्रमणमा रहेको टोलीमा छैनन् । सन्दीप लामिछाने पनि टी–२० क्यानडा लिगमा सहभागी थिए । क्यारेबियन टी–१० ले अगस्त १८ देखि २५ तारिखसम्म क्यामन आइल्यान्डमा सञ्चालन हुनेछ ।

















