अर्शद नदीमलाई इनामको ओइरो, मरियम नवाजले दिइन् १० करोडको चेक

Image

एजेन्सी । पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्रै पदक विजेता अर्शद नदीमलाई पुरस्कारको आइरो लागिरहेको छ । पाकिस्तानको पन्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका अर्शद नदीमलाई १० करोड रुपैयाँ पुरस्कार दिएकी छिन् ।

नवाजले अर्शद नदीमलाई होन्डा सिभिक कार पनि दिएकी थिइन् । अरशद नदीमले ओलम्पिकमा ९२.९७ मिटर टाढा भाला फालेका थिए । रमाइलो कुरा के छ भने नवाजले नदीमलाई दिएको कारको नम्बर पनि ९२.९७ रहेको छ । नदीम ओलम्पिकमा उपाधि जित्ने एक मात्रै पाकिस्तानी हुन् ।

भारतले ओलम्पिकमा ६ ओटा पदक जितेको थियो । तर नदीमले जितेको एउटै पदक भारतमाथि भारी भयो । पदक तालिकामा पाकिस्तानले भारतलाई उछिन्यो । उनको यो उपलब्धीले पाकिस्तानमा निकै सम्मान पाइरहेको छ ।

पाकिस्तानका धेरै प्रतिष्ठित व्यक्ति र संस्थाहरूले उनको लागि पुरस्कार घोषणा गरेका छन् । केही अघि नदीमका ससुराले उनलाई भैँसी उपहार दिएको खबर पनि भाइरल बनेको थियो ।