इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लाको रोमाञ्चक जित

Image

काठमाडौं। एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा शनिबार घरेलु टोली वेस्टहम युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

लन्डन रंगशालामा एस्टन भिल्लालाई जित दिलाउन अमडोउ ओनाना र जोन डुरनले गोल गरे । वेस्टहमका लागि लुकास पाक्वेटाले गोल फर्काए । खेलको चौथो मिनेटमै ओनानाको गोलमार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो ।

३७औं मिनेटमा पाक्वेटाले पेनाल्टीमार्फत गोल गर्दै वेस्टहमलाई बराबरीमा ल्याए । डुरनले ७९औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुखद सुरुआत दिलाए ।

लिगअन्तर्गत शनिबार नै सम्पन्न अन्य खेलमा लिभरपुलले इप्सविच टाउन तथा आर्सनलले उल्भरह्याम्टनलाई समान २-०, ब्राइटनले एभर्टनलाई ३-० र न्युक्यासले साउथह्याम्पटनलाई १-० ले हराउँदा नटिङ्घम फरेस्ट र बर्नमाउथ १-१ को बराबरीमा रोकिए ।