काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको तेस्रो खेलमा आज (मंगलबार) बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउसो तीन बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
साविक उपविजेता बंगलादेश पहिलो खेल खेल्दैछ । समूह ‘ए’ मा श्रीलंकाले दोस्रो खेल खेल्न लागेको हो । टोली पहिलो खेलमा घरेलु टोली नेपालसँग १–० ले पराजित भएको थियो । श्रीलंका दोस्रो खेलमा जित्नै पर्ने दबाबमा छ । यदि लगातार दोस्रो हार बेहोरे टोलीको यात्रा समूह चरणबाटै सकिनेछ ।
श्रीलंका पराजित भएको अवस्थामा घरेलु टोली नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूहमा नेपालको तीन अंक छ । बंगलादेश र श्रीलंकाको कुनै अंक छ ।
यदि आजको खेल बराबर भए पनि नेपाल सेमिपफाइनलमा पुग्नेछ । तर, श्रीलंकाले जित निकाले अन्तिम खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । नेपाल र बंगलादेशको खेल बिहीबार हुनेछ । निराजन धामीले गोल गरेपछि नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा सोमबार भारतले भुटानलाई १–० ले नै हराएको थियो । तर, खेलमा भारत ९ तथा भुटान १० खेलाडीमा समेटिएका थिए । दक्षिण एसियाली युवा टोलीको प्रतिस्पर्धामा पाकिस्तानको सहभागिता छैन ।
बाँकी ६ टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । चार टोली सेमिफाइनलमा पुग्नेछन् । छैटौं संस्करण चलिरहँदा भारत सर्वाधिक तीन पटकको च्याम्पियन हो । नेपालले दुई पटक उपाधि उचालिसकेको छ ।

















