एकै ओभरमा ३९ रन बनाएपछी…

Image

काठमाडौं । समाओका ब्याटर डुरियस भिसेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका छन् । भिसेरले टी–२० विश्वकप इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटअन्तर्गत मंगलबार भानुआतुविरुद्धको खेलमा यो कीर्तिमान बनाएका हुन् । भानुआतुविरुद्ध उनले ६२ बलमा १३२ रन बनाए ।

२८ वर्षीय भिसेरले तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमै यो कीर्तिमान बनाएका हुन् । उनले भानुआतुका नालिन निपिकोको ओभरको ६ बलमा ६ छक्का प्रहार गरे । योसँगै भिसेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने चौथो ब्याटर समेत बने ।

उनले पहिलो इनिङको १५औँ ओभरमा ३९ रन बनाएका हुन् । उक्त ओभरको सुरुआती तीन बलमा भिसेरले लगातार तीन छक्का प्रहार गरेका थिए । चौथो नो बल हुँदा भिसेरले अर्को अतिरिक्त बलमा पनि छक्का प्रहार गरे ।

पाँचौँ बल निपिकोले डट बल गर्छन् । तर, छैटौँ बल पुनः नो बल भएपछि भिसेरले नो बलमा पनि छक्का प्रहार गर्छन् । तर, निपिकोले फ्याकेको यो बललाई पनि अम्पायरले नो बलको इशारा गर्छन् । र, अन्तिम अतिरिक्त बलमा पनि भिसेरले छक्का प्रहार गर्दै ३९ रन जोड्न सफल बन्छन्।

भिसेरले ६ छक्कासहित ३६ रन बनाउँदा अरु तीन रन अतिरिक्त रूपमा हुन् । खेलमा समाओले १७४ रन बनाउँदै भानुआतुलाई १७५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा भानुआतुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रनमात्र जोडेपछि समाओले खेल १० रनले आफ्नो पक्षमा पारेको थियो ।

यसअघि पुरुष टी ट्वान्टी आईमा एक ओभरमा ३६ रन बनाएको काम पाँच पटक भएका थिए । सन् २००७ को टि ट्वान्टी विश्वकपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडको बलमा भारतका युवराज सिंहले ६ छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजका किरोन पोलार्डले सन् २०२१ मा श्रीलंकाकी अकिला धनञ्जयविरुद्ध र नेपालका दीपेन्द्रसिंह ऐरीले यो उपलब्धि दोहोर्याएका थिए ।

सन् २०२४ मा वेस्ट इन्डिजका निकोलस पुरन तथा भारतका राेहत शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध एकै ओभरमा समान ३६ रन बनाएका थिए । उनीहरुले एकै ओभरमा ६ छक्का भने प्रहार गरेका थिएनन् ।