हेटौंडा/ हेटौंडा–४ मा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालयमा इन्द्रसरोवर गाउँपालिकाको शिक्षा टिमले अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ। इन्द्रसरोवर गाउँपालिकाका सात सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू र शिक्षा शाखाका कर्मचारीहरूले हेटौंडाका चारवटा सामुदायिक विद्यालय भ्रमण गरी शैक्षिक अभ्यास अवलोकन गरेका हुन्।
भ्रमण टोलीले भुटनदेवी मावि, जनप्रिय मावि, प्रगति मावि, र बाल ज्योति मावि भ्रमण गरेका थिए। भ्रमणको उद्देश्य विद्यालयहरूमा भएका असल अभ्यासहरूलाई अध्ययन गरी शैक्षिक गुणस्तर सुधारका लागि सिकाइ लिनु रहेको थियो।
भुटनदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारका लागि तालिम र क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताए। उनले स्थानीय तहले शैक्षिक वातावरण सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
भुटनदेवी माविका सहायक प्रअ भरत पोखरेलले विद्यालयको शैक्षिक प्रगतिको विवरण प्रस्तुत गरेका थिए। हाल उक्त विद्यालयमा २,४५९ विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा प्रअ माधव प्रसाद दाहाल लगायतकाले शैक्षिक सुधारका लागि आफ्नो धारणा राखेका थिए।

















