बकैया कप फुटबल प्रतियोगितामा वडा नम्बर ११ ले जुनियरतर्फ उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा

Image

हेटौंडा / छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगितामा वडा नम्बर ११ ले जुनियरतर्फ उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बकैया–३ स्थित बकैया रंगशालामा भएको खेलमा वडा नम्बर १२ लाई २-० गोलले पराजित गर्दै वडा नम्बर ११ विजयी भएको हो।

खेलमा वडा नम्बर ११ का निखिल घलानले दुवै गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए। अब वडा नम्बर ११ ले उपाधिका लागि वडा नम्बर १ र वडा नम्बर २ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जुनियरतर्फको दोस्रो सेमिफाइनल खेल शनिबार हुनेछ।

प्रतियोगितामा जुनियरतर्फ जम्मा चार टोली सहभागी भएका छन्। विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी, सिनियरतर्फ शुक्रबार वडा नम्बर ५ र वडा नम्बर ९ बीचको खेल समय अभावका कारण स्थगित भएको छ। खेल शनिबार बिहान ९ बजेबाट पुनः सुरु हुनेछ। सिनियरतर्फ शनिबार दिउँसो २ बजे वडा नम्बर ३ र वडा नम्बर ४ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ। सिनियरतर्फको विजेता टोलीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।