नेपाल जग्गा तथा आवास विकास महासंघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ आज शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको सभाध्यक्षतामा हेटौंडा महानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नगर उपप्रमुख बानियाँले रियल इस्टेट व्यवसायीहरूले सामना गरिरहेका समस्याको विषयमा चर्चा गर्दै सरकारी निकायहरूले समयमै सहयोग नगरेका कारण जिल्ला संघ हुँदै महासंघ स्थापना भएको उल्लेख गर्नुभयो। साथै, हेटौंडामा व्यवस्थित बस्ती विकासको ठूलो सम्भावना रहेको र स्थानीय निकायबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

महासंघका अध्यक्ष घिमिरेले हेटौंडामा सडक विस्तार र मुख्य बजारका भौतिक संरचनाको सुदृढीकरण आवश्यक रहेको बताउँदै, हेटौंडालाई व्यवस्थित शहरका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विदुर धमला र उपाध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, महासंघले संघीय, प्रदेश, र स्थानीय सरकारहरूसँग सहकार्य गर्दै रियल इस्टेट व्यवसायलाई मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

यस्तै कार्यक्रममा महासंघको सदस्यता लिने कम्पनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।