हेटौंडा/ बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका अस्पतालहरूमा गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। उनले हेटौँडामा लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नभा अस्पताल भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशभरका अस्पतालहरूमा सेवाग्राहीको विश्वास बढ्दै गएको र त्यसका कारण भीड देखिन थालेको बताए।
उनले अस्पतालहरूलाई अझ सर्वसुलभ र गुणस्तरीय बनाउने योजना अघि बढाइरहेको जानकारी दिएका छन्। मन्त्री थापाले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ल्याएपछि सेवा स्तरमा सुधार भएको उल्लेख गर्दै, विशेषज्ञ सेवा थपिँदै जाँदा सेवा प्रभावकारी बनेको बताए।
आयुर्वेद र आँखा अस्पतालको विस्तारलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको र प्रत्येक जिल्लामा आँखा उपचार सेवा पुर्याउन तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्ने योजना रहेको पनि उनले बताए। साथै, मन्त्री थापाले पुनर्नभा अस्पताल निर्माणका लागि व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

















