हेटौंडा राप्ती खोलाको डम्पिङ साइटको फोहरमा आगोलगाउदा स्वास्थ्यमा समस्या

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको राप्ती खोला किनारमा रहेको डम्पिङ साइटको अव्यवस्थित व्यवस्थापनले स्थानीय बासिन्दालाई गम्भीर स्वास्थ्य समस्यामा पारिरहेको छ। नगरपालिकाले निर्माण गरेको उक्त डम्पिङ साइटमा फोहर व्यवस्थापनको उचित प्रक्रिया नअपनाउँदा र प्लास्टिकजन्य फोहर तथा मेडिकल फोहर जलाउदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १,१०,११,१२,१३ वडाहरूमा अत्याधिक दुर्गन्ध र प्रदूषण फैलिएको छ।

डम्पिङ साइटमा यसरि पटकपटक आगो लगाइँदा उत्पादन हुने प्लास्टिकजन्य धुवाँले वायु प्रदूषण मात्र नभई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्‍याएको छ। यसबाट विशेष गरी जेष्ठ नागरिक, बालबालिका, दमका रोगी तथा दीर्घ रोगीहरू बढी प्रभावित भएकाे हेटौंडा ११ सिमलटार  टोल बिकास संथाका पुर्व अध्यक्ष मधुकुमार थापा मगरले बताउनुभयो।

फोहोर जलाउँदा उत्पन्न हुने दुर्गन्धले खाना खान असहज हुने, श्वासप्रश्वासमा समस्या उत्पन्न हुने, बान्ता हुने र आँखा तथा फोक्सोलाई गम्भीर असर गर्ने उहाको गुनासो छ। यसले मानव स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै उहाले यस विषयमा सरोकारवाला निकायले तुरुन्त ध्यान दिनुपर्ने माग गर्नु भयो।
नेपालको फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार फोहोर व्यवस्थापन गर्दा स्थानीय बासिन्दाको सहमति लिनुपर्ने र वातावरणमा असर नपर्ने गरी काम गर्नुपर्ने प्रावधान छ। तर, नगरपालिकाले यी मापदण्ड पालना नगर्दा स्थानीयले ठूलो समस्या भोग्नु परेको छ।

स्थानीय सरोकारवाला निकायहरूले समयमा नै समस्या समाधान नगर्ने हो भने यो स्वास्थ्य संकट अझ गम्भीर बन्न सक्छ। यसका लागि डम्पिङ साइट व्यवस्थापनलाई प्रभावकारी बनाउनु, फोहोर वर्गीकरण र पुन:प्रयोग प्रणाली लागू गर्नु, तथा प्रदूषण नियन्त्रणका उपायहरू तत्काल लागू गर्नु अति आवश्यक रहेको छ।