हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण कदम उठाउँदै पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको छ। उपमहानगरपालिकाका स्वास्थ्य केन्द्रहरू र विद्यालयहरूबाट यो खोप अभियान सञ्चालन गरिने जानकारी सोमबार खोप समन्वय समितिले दिएको छ।
यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्रा र १० देखि १४ वर्ष उमेरका विद्यालय बाहिर रहेका किशोरीहरूलाई खोप प्रदान गरिनेछ। अभियान २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ।
स्वास्थ्य शाखाका प्रमुख सूर्यप्रसाद तिवारीका अनुसार ८९ विद्यालय र १११ स्वास्थ्य केन्द्रमार्फत ९,२३८ जनालाई खोप दिने लक्ष्य राखिएको छ। अभियानलाई नियमित रूपमा विद्यालय स्तरमा लागू गर्ने योजना पनि रहेको जानकारी तिवारीले दिएका छन्।
खोप अभियानको तयारीका लागि नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न वडा अध्यक्ष, कार्यपालिका सदस्य, र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

















