कैलाशगाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम सन्चालन गर्दै ९ जनालाई सम्मान

Image

हेटौंडा/ मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले १५औँ गाउँसभाबाट चालू आर्थिक वर्ष २०८१/८२ का लागि बजेट संशोधन गरी थप २ करोड ३० लाख रुपैयाँको आयव्यय अनुमानसहित कुल बजेट २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुर्‍याएको छ। उपाध्यक्ष बालकुमार मल्लद्वारा पेश गरिएको संशोधन प्रस्ताव गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको हो।

थप गरिएको बजेट गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरिएको छ। चालुतर्फ ८ वटा योजनामा र पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थपिएको छ भने ६ नयाँ चालु योजना र २९ नयाँ पुँजीगत योजना समेत थपिएका छन्।
गाउँसभाबाट खानेपानी सरसफाई ऐनपशु स्वास्थ्य तथा सेवा ऐन पारित गरिएको छ। साथै, ३ वटा ऐन र २७ वटा कार्यविधिमा संशोधन गरिएको छ।

चेली प्रोत्साहन कार्यक्रम

गाउँपालिकाले कम उमेरमा विवाह गर्ने प्रचलन घटाउन र शिक्षामा ध्यान दिन युवतीहरूलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेको छ। यसपटक ९ जनालाई जनही २०  हजार नगदसहित सम्मान गरिएको छ। सम्मानित चेलीहरूमा अम्बिका अर्याल, अनिता रुम्बा, कल्पनामाया घलान, सविना रुम्बा, हिरा मुक्तान, देवकी बर्तौला, लक्ष्मी ब्लोन, शान्ति तितुङ, र अबिगेल प्रजा रहेका छन्।

अन्य सम्मान कार्यक्रम : गाउँपालिकाले कृषक, उद्यमी, शिक्षक, सामाजिक परिचालक, निर्माण व्यवसायी, विद्यार्थी, प्रधानाध्यापक लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको छ।  गाउँपालिका अध्यक्ष लोक मुक्तानले र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले यो सम्मानले सामाजिक अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

विशेष उद्देश्य
कैलाश गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, र सामाजिक सुधारका योजनाहरूलाई प्राथमिकता दिंदै स्थानीय विकास र सामुदायिक सशक्तिकरणमा जोड दिदै आईरहेको अध्यक्ष मुक्तानले बताउनुभयो।