हेटौंडा१२ मा भलिबल प्रतियोगिता सुरु

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १२ को सहयोग र हेटौंडा–१२ खेलकुद विकास समितिको आयोजनामा जारी प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता  आज बुधबारदेखि सुरु भएको छ। प्रतियोगिता हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयमा माघ १९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन  हेटोंडा–१२ खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १२ का वडाध्यक्ष अर्जुनप्रसाद तिवारीको प्रमुख आतिथ्यतामा भलिबल खेल सुरु भएको हो। उद्घाटन खेलमा हेटौंडा–११ ले हेटौंडा–१९ लाई पराजित गर्दै विजयी भएको छ भने दोस्रो खेलमा हेटौंडा–१२ ले हेटौंडा–६ लाई हराएको छ। पहिलो खेलमा हेटौंडा–११ का निश्चल राना मगर र दोस्रो खेलमा हेटौंडा–१२ का कुशल लो म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा हेटौंडा नगरपालिकाका १९ वटा वडामध्ये ७ वटा वडाले सहभागिता जनाएका छन्। बिहीबार हेटौंडा–१३ विरुद्ध १२, हेटौंडा–६ विरुद्ध १५, तथा हेटौंडा–१७ विरुद्ध १९ बीच खेल हुने कार्यक्रम रहेको छ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँ, उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिने छ। साथै, विधागत उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने संयोजक मनोज लामा स्याङतानले जानकारी दिएका छन्।