हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको राप्ती तटस्थित फोहर डम्पिङ साइटमा माघ ११ गते राति आगलागी भएको थियो, जसले हेटौंडा बजार क्षेत्र र आसपासका वस्तीहरूमा गम्भीर वायु प्रदूषणको समस्या उत्पन्न गरेको छ। विशेष गरी हेटौंडा-१० न्युरेनी, भूटनदेवी, हेटौंडा-१ चाइनाक्वाटर, हेटौंडा-११ सिमलटार, गोल्फिनटार, थानाभर्याङ, नवलपुर हेटौंडा-९ मा रहेको धार्मिक क्षेत्र कुष्माण्डव सरोवर लगायतका स्थानहरू प्रभावित भएका छन्।

यस आगलागीका कारण प्लास्टिकजन्य फोहरबाट निस्किएको विषाक्त धुवाँले स्थानीय बासिन्दाहरूमा आँखा पिरो हुने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरू देखा परेका छन्। विशेष गरी साना बालबालिका, दीर्घरोगी, वृद्धवृद्धा लगायतका नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको संघर्ष समिति संयोजक सोम बहादुर लामाले बताउनुभयो।
स्थानीयहरूले फोहर व्यवस्थापन गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले जानाजान फोहरको थुप्रोमा आगो लगाउने गरेको आरोप लगाएका छन्। यसबारे कम्पनीविरुद्ध प्रशासनमा उजुरी समेत परिसकेको छ।
यो समस्या नयाँ नभई विगत ४-५ वर्षदेखि दोहोरिरहेको स्थानीयहरूको गुनासो छ। डम्पिङ साइटबाट निस्कने दुर्गन्ध र प्रदूषणले आसपासका बस्तीहरूमा बस्न कठिन भएको छ। स्थानीयहरूले डम्पिङ साइटलाई व्यवस्थित गर्न वा बस्तीभन्दा टाढा सार्न माग गरेका छन्।
सम्बन्धित निकायहरूले यस समस्याको दीर्घकालीन समाधानका लागि चाँडो कदम चाल्नुपर्ने आवश्यकता छ। अन्यथा, स्थानीयहरूले फोहर ल्याउने गाडीहरूलाई रोक्ने चेतावनी दिएका छन्।

















