हेटौंडा/ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मकवानपुरले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरलाई निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सहजीकरण गर्न आग्रह गरेको छ।
सङ्गठनले प्याब्सनलाई सम्बोधन गर्दै पठाएको पत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्ने सरकारको नीति रहेको उल्लेख छ। तर जिल्लाका अधिकांश निजी विद्यालयका शिक्षक तथा कर्मचारीले मासिक पारिश्रमिकबाहेक अन्य सेवा तथा सुविधा नपाएको प्रति ध्यानाकर्षण गराउँदै उनीहरूको सुरक्षाका लागि कोषमा आवद्ध गराउन आवश्यक सहजीकरण गर्न माग गरिएको छ।

जिल्ला समितिका अध्यक्ष मुकुन्द न्यौपाने र सचिव गोपीरमण प्याकुरेलद्वारा हस्ताक्षरित पत्रमा शिक्षकहरूको पेशागत सुरक्षाको विषयलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ। शिक्षकहरूको अधिकार सुनिश्चित गर्न सरकारले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य रहेको भन्दै प्याब्सनले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने माग गरिएको छ।

















